नियम ३५
पुनरावेदन पत्रमा खुलाउनु पर्ने कुराहरू
(१) ऐनको दफा ११९ को उपदफा (२) वा उपदफा (६) बमोजिम पुनरावेदन गर्दा देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) जुन फैसलामा आफ्नो चित्त बुझेको छैन सो फैसला गर्ने सैनिक अदालतको नाम,
(ख) शुरु मुद्दामा वादी वा प्रतिवादी भएको कुरा,
(ग) मुद्दाको नाम,
(घ) फैसला भएको मिति,
(ङ) शुरु मुद्दामा दावी गरेको दण्ड सजाय, विगो, जरिवाना र कायम भएको दण्ड सजाय तथा विगो, जरिवाना,
(च) फैसला गर्दा लिएका आधार,
(छ) फैसलामा चित्त नबुझेका कुराहरू, त्यसको कानूनी आधार र कारण तथा पुनरावेदन पत्रमा माग गरेको कुरा,
(ज) पुनरावेदक कैद वा थुनामा परेको भए कैद वा थुनामा परेको मिति,
(झ) दण्ड जरिवाना बिगो बुझाएको भए कहिले, कहाँ बुझाएको हो सोको प्रमाण,
(ञ) म्याद सम्बन्धी कुरा ।
(२) उपनियम (१) बमोजिम गरिएको पुनरावेदन पत्र देहाय बमोजिम भएको देखिन आएमा दर्ता गरी सम्बन्धित व्यक्तिलाई सोको निस्सा दिनु पर्नेछः–
(क) दण्ड जरिवाना वा धरौट लाग्नेमा सो बुझाएको,
(ख) जमानी दिएकोमा सो कानून अनुरूप भएको,
(ग) म्याद नगुज्रिएको,
(घ) शुरु फैसलाको स्पष्ट बुझिने र रीतपुर्वकको नक्कल पेश भएको ।
(३) जङ्गी अड्डा बाहिर गठित जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको शुरु फैसला उपरको पुनरावेदन पत्र सम्बन्धित पृतना प्राड विवाक शाखा वा बाहिनी प्राड विवाक शाखा मार्फत सैनिक विशेष अदालतमा पेश गर्न सकिनेछ ।
(४) उपनियम (३) बमोजिम पृतना प्राड विवाक शाखा वा बाहिनी प्राड विवाक शाखामा पुनरावेदन पत्र पेश भएमा सो शाखाले त्यस्तो पुनरावेदन पत्र बुझी लिई सोकोे निस्सा सम्बन्धित व्यक्तिलाई दिई यथाशीघ्र उक्त पुनरावेदन पत्र सैनिक विशेष अदालतमा
पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम पृतना प्राड विवाक शाखा वा बाहिनी प्राड विवाक शाखामा पुनरावेदन पत्र पेश भएकोमा सोही मितिलाई नै पुनरावेदन परेको मिति कायम गरिनेछ ।
(६) पुनरावेदन पत्रको ढाँचा अनुसूची–८ बमोजिम हुनेछ ।